४ जेठ, एजेन्सी ।
सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । क्यालिफोर्नियाको एक अदालतले बुधबार आफ्नो आदेशमा ६२ वर्षीय राणालाई सुपुर्दगी गर्न सकिने जनाएको छ ।
२६ नोभेम्बर २००८ मा भएको मुम्बई हमला पाकिस्तानमा रहेको लश्कर ए तैयब अतिवादीहरूले गराएको थियो । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यी आक्रमणहरूमा पाकिस्तानी मूलका क्यानाडेली व्यापारी तहव्वुर राणाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार राणालाई मुम्बई हमलामा उनको भूमिकाको लागि भारतले सुपुर्दगी गर्न अनुरोध गरेपछि अमेरिकामा पक्राउ गरिएको थियो । अदालतको सुनुवाइका क्रममा अमेरिकी सरकारका वकिलहरूले ‘राणालाई आफ्नो बाल्यकालको साथी पाकिस्तानी–अमेरिकी डेभिड कोलम्यान हेडली लश्कर ए तैयबमा संलग्न रहेको भन्ने थाहा थियो र उनको गतिविधिका बारेमा जानकार भएर पनि उहेडलीलाई सहयोग गरि नै रहेको र सहयोग गरेर उनलाई बचाउन खोजिरहेको भन्ने तर्क गरेका थिए ।
मुम्बईमा भएको आतंकवादी हमलामा ६ अमेरिकीसहित कुल १७४ जनाको मृत्यु भएको थियो । भारत र अमेरिकाबीच सुपुर्दगी सन्धि छ । न्यायाधीशले राणाको भारत सुपुर्दगी पूर्णतया सन्धिको क्षेत्राधिकारभित्र रहेको फैसला सुनाएका छन् ।
सन २००८ को नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी हमला भएको थियो । जसमा तीनसय भन्दा बढी घाइते भएका थिए । पाकिस्तानबाट जलमार्गबाट डुंगामा आएका १० जना लस्कर ए तोइबा समूहका आतंकवादीले होटल, रेलवे स्टेशन, सिनेमा हल, अस्पताल, रेस्टुरेन्ट र कलेजमा हमला गरेका थिए । घट्नामा सामेल ९ जना आतंकवादी मारिएका थिए । र, समातिएका एक कसाबलाई मृत्युदण्ड दिइएको थियो ।