४ जेठ,काठमाडौं ।
काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ । बिहानबाट वर्षा भइरहे पनि मध्याह्न १२ बजे अगाडि केही समय पानी पर्न रोकिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसपछि पुनः वर्षा सुरु हुनेछ । दिनभर वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नहुने मानन्धरको भनाइ छ ।
मनसुन नजिकिएकाले अब मध्याह्नपछि प्रायः हरेक दिन वर्षाको सम्भावना रहने उनी बताउँछिन् । भारी वर्षाको सम्भावना कम भए पनि हरेकदिन जसो पानी पर्ने उनको भनाइ छ । यस्तै आज देशका धेरै ठाउँमा पानी पर्ने पनि उनले बताएकी छिन् ।
मौसमविद् मानन्धरका अनुसार आज पहाडी जिल्लासहित तराईका एक÷दुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशको मध्यभाग बाहेक अन्य ठाउँमा मौसम बदली भइ दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिजो पनि दिउँसो र बेलुका धेरै ठाउँमा पानी परेको थियो । गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हिजो ठूलो वर्षासमेत भएको थियो । गएको २४ घण्टामा बाग्मती प्रदेशको नगरकोटमा ६५ मिलीमिटर, दामनमा ४२ दशमलव २ र काठमाण्डौमा २३ मिलीमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी परेको महाशाखाले जनाएको छ । आज बिहान कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
कोसी, वाग्मती, र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आज राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेनेछ ।
अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।