भारतको भित्तेचित्रमा लुम्बिनी, कपिलवस्तु र विराटनगर

भारतको भित्तेचित्रमा लुम्बिनी, कपिलवस्तु र विराटनगर

१६ जेठ, काठमाण्डौ ।

दुई दिनअघि मात्रै उद्घाटन गरिएको भारतको नयाँ संसद भवनमा नेपालका मुख्य तीन स्थानहरु समावेश गरिएको पाइएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत भारतले आफ्नो नयाँ संसद भवनमा राखिएको भित्ते चित्रमा अंकित भौगोलिक पहिचान प्रति चासो व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगर तथा पाकिस्तानका केही भागलाई पनि भारतीय भूमिझैं दर्शाउने गरी अंकित गरे पछि भट्टराईले चासो व्यक्त गरेका हुन । उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झैं उल्लेख गर्ने विषयले दुई देशका बीचमा आपसी कुटनीतिक सम्बन्धमा दरार आउनेसक्ने जनाएका छन् ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् । त्यसैले सो नक्साको अभिप्रायबारे भारतीय नेतृत्वले जानकारी दिनुपर्ने उनको भनाइ छ ।

भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’ उनले भनेका छन् ।

भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ । सो नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ । नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु, विराटनगर तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ ।

भारतको नयाँ संसद् भवनमा महाराष्ट्रको नागपुरबाट सागौनका काठ, राजस्थानको सरमाथुराबाट रातो र सेतो बलौटे ढुंगा, उत्तर प्रदेशको मिर्जापुरीको गलैँचा, त्रिपुराको बाँसको फर्शलगायत स्थानीय सामग्री प्रयोग गरिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

नयाँ संसद् भवनले भारतको विविध संस्कृति झल्काउँने बताइएको छ । र त्यही संस्कृति भित्र विराट राजा र भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा पाकिस्तानको तक्ष शिलालाई समेत आफ्नै भूगोल भएजसरी प्रस्तुत गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.