१७ जेठ, एजेन्सी ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौंबाट प्रस्थान गरेका थिए ।
नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्। लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए ।
प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चारदिने भारत भ्रमणको तय गरेका हुन् ।
गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका थिए ।
बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि होटलतर्फ प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन् । द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।
दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । दिल्लीमा राजनीतिक भेटघाट सकेर प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको उज्जैन जाने कार्यक्रम छ । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी छन् ।
टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् । चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।