१७ जेठ, एजेन्सी ।
प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो।
पहिलो विदेश भ्रमण भारतबाटै गर्ने अडानमा वसेका दाहालले भ्रमणमा जानु अघि चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच भेटवार्ता गरेका छन्।
बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनले चीनियाँ नेतासँग भेटघाट गरेका हुन। प्रधानमन्त्री ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेता नेपाल आएका थिए ।
सीपीसीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहितको टोली बालुवाटार पुगेको थियो । यस्तै माओवादीको केन्द्रिय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरुसँग भेट गरेको छ ।
भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन् । उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताए ।
भेटका बारेमा महराले भनेका छन्, उहाँ छिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो । उहाँको नेतृत्वमा आएको टिमसँग हामीले छलफल ग¥यौँ । दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो ।
दुई सरकारबीचमा समान सम्बन्ध बिस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा ग¥यौँ ।’ भेटमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।