१९ जेठ , एजेन्सी ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुसँग बयान लिने क्रम जारी छ । आज पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग काठमाडौं जिल्ला अदालतमा बयान लिइनेछ । यही प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी पनि रहेको छ ।
उनीहरुको बयान पनि आजै हुने बताइएको छ । बिहीवार भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो । उक्त प्रकरणका आरोपितमध्ये आजसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् ।
उक्त प्रकरणका आरोपितमध्ये १७ पक्राउ परेका छन् भने १३ अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । बयान सक्न अझै केही दिन लाग्नेछ । बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ ।
बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए ।
अझै सयौं पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पूरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू भएको थियो ।