२० जेठ, एजेन्सी ।
स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट आफ्नो करियरलाई बिट मार्दैछन् । रामोसले सिजनको अन्त्यसँगै पिएसजी छाड्ने भएका छन् । डिफेन्डर सर्जियो रामोसले शनिबार लिग वानको सिजनको अन्त्यमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छाड्ने निर्णय गरेका हुन् ।
रामोस यो सिजन पीएसजी छाडने दोस्रो महत्वपूर्ण खेलाडी हुन् । यसअघि अर्जेन्टिनी स्थार लियोनल मेसीले पीएसजी छाड्ने निश्चित भइसकेको छ । ‘भोलि एक विशेष दिन हो, भोलि म मेरो जीवनको अर्को चरणलाई बिदाइ गर्छु, पिएसजीबाट छुट्टिदैछु ।’ रामोसले ट्विट गरेका छन् ।
३७ वर्षीया रामोसले पीएसजीका लागि ५७ खेल खेलेका थिए र २०२१ मा रियल म्याड्रिडबाट आएपछि दुई फ्रेन्च उपाधि जितेका छन् । पीएसजीका अध्यक्ष नासेर अल–खेलाफीले सर्जियोको नेतृत्व, टोली भावना र व्यावसायिकता, उच्च स्तरमा उनको अनुभवसँगै मिलेर उनलाई एक साँचो फुटबल लिजेन्ड बनायो, र उनलाई पेरिसमा पाउनु सम्मानको कुरा रहेको बताएका छन् ।
रामोस स्पेनिस राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि हुन् । उनले स्पेनलाई विश्वकपको उपाधि पनि चुमाएका छन् । यसैगरी उनले स्पेनिस राष्ट्रिय टोलीबाट दुई पटक युरो कपको उपाधि पनि जितेका छन् । रामोस स्पेनका सबैभन्दा धेरै क्याप जित्ने खेलाडी हुन् । रियलमा ट्रफीले भरिएको क्यारियरमा पाँच ला लिगा उपाधि र चार च्याम्पियन्स लिग विजेता पदकहरू पनि समावेश छन् ।
उनी स्पेनिस क्लब रियल म्याड्रिड छाडेर पीएसजीमा आबद्ध भएका थिए । पिएसजी आइपुगेको पहिलो सिजन रामोसका लागि कठीन रह्यो । रामोसलाई सिजनभर स्वास्थले साथ दिएको थिएन । गत सिजन उनी चोटका कारण अधिकांश समय मैदान बाहिर रहन बाध्य भएका थिए । गत सिजनमा खासै खेल्ने अवसर नपाएपनि जारी सिजनमा भने रामोस उच्च लयमा छन् ।