२० जेठ,काठमाण्डौ ।
अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क वृद्धि भएको हो । अमेरिकाले भ्रमण र गैरआप्रवासी भिसाको शुल्क बढाएको हो । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै भिसा शुल्क बढेको जानकारी दिएको हो ।
दूतावासका अनुसार २०२३ जुन १७ तारिखदेखि अमेरिकाको भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुनेछ । पेटिसनमा आधारित (एच, एल, ओ, पी, क्यू, आर) भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन् ।
ई भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछन् । भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिएको समेत दूतावासले जानकारी गराएको छ ।
दूतावासले अन्तर्राष्ट्रिय यात्राले अमेरिकी अर्थतन्त्रमा विशेष भूमिका खेल्नेसमेत जनाएको छ । दूतावासको सूचनामा भनिएको छ, ’अमेरिकी अर्थतन्त्रमा अन्तर्राष्ट्रिय यात्राले खेल्ने महत्त्वपूर्ण भूमिका हामीले बुझेका छौँ । भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी एक वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिन्छन् ।’