२१ जेठ,काठमाण्डौ ।
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंले असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ ।
तर यो बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन । तर अहिले पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए । यससंगै संदीपले अभ्यास खेल खेल्न पाउने भएका हुन् ।
यसअघि गत मङ्गलवार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् । उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए ।
अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले भाग लिने छ । असार २९ गतेभन्दा अगाडि पेसी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् ।
गत फागुन १५ गते सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान पाउने गरी धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, सर्वोच्चले उक्त मुद्दालाई छिटो सकाउन समेत जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसको तीन महिना बितिसक्दा पनि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छैन । यस्तै भिषा नआउँदा टिमसँगै दक्षिण अफ्रिका जान नपाएका मुख्य प्रशिक्षक मोन्टी देसाई पनि सोमबारसँगै दक्षिण अफ्रिका जाने सम्भावना रहेको छ ।