२२ जेठ, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भैंसी चढेर आएको भनेपछि संसद्मा हंगामा भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जवाफ दिइसकेपछि प्रश्नोत्तरका क्रममा रास्वपा सांसद् खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादी सांसद्हरुले आपत्ति जनाएका हुन् ।
खनालले नयाँ हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउलान् भनेको भैंसी पो चढेर आए भन्ने अभिव्यक्ति दिएका थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए । प्रधानमन्त्री भैंसी चढेर आएको शब्द संसदको मर्यादाविपरीत हुने भन्दै त्यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका थिए ।
लगत्तै रास्वपाका सभापति रवी लामिछानेले प्रधानमन्त्री प्रचण्ड स्वयमले भैंसी चढेर आएको भनेर भनेको बताए । सो शब्दलाई लिएर सत्तापक्षका सांसद्हरुले आपत्ति जनाएपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । पुन विपक्षी सांसदले पनि प्रधानमन्त्रीलेसमेत भैंसी चढेर आएको शब्द बोलेको हटाउनुपर्ने माग गरेका थिए ।
त्यसपश्चात सभामुखले प्रचण्डले बोलेको ’भैंसी चढेर’ आएको भन्ने शब्दसमेत हटाउन निर्देशन दिए । तर एउटा सांसदले बोलिरहेको बेलामा अर्काले आपत्ति जनाएको भन्दै एमाले र रास्वापाका सांसदहरूले उठेर प्रतिवाद गरे । एमाले नेता सूर्य थापाले सत्ता पक्षले दादागिरी गरेको भन्दै नियमापत्ति भएको बताए ।
सभामुखले ’भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएपछि पनि एमाले रघुजी पन्तले पुन आपत्ति जनाउँदै प्रधानमन्त्रीले भैंसीको कुरा उठाएकाले प्रधानमन्त्रीले बोलेको विषय पनि रेकर्डबाट हटाउन माग गरेका थिए । रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्री स्वयं भनेको कुरालाई लिएर आफ्ना सांसद हटाउने कुरा आपत्तिजनक भएको बताए ।
लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी दिए । उनले भने, ‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । प्रतिपक्षको सदन हो । प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस् ।’
यसअघि प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा मूर्रा भैंसी ल्याउनेबारे स्पष्टीकरण दिएका थिए । उनले यो विषयमा सात वर्षअघि नै कुरा भएको जानकारी दिए । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी दिने क्रममा भैंसीको प्रसंगबारे कुरा उठाएका हुन् । ’भैंसीको कुरा अहिले भएको होइन । आजभन्दा सात वर्षअघि नै मूर्रा भैंसी ल्याउने कुरा भएको रहेछ । मान्छेले अहिले मलाई भैंसी चढाएर हिँडेका छन‚’ प्रधानमन्त्री दाहालले भनेका थिए ।