२५ जेठ, एजेन्सी ।
सयौंको ज्यान जाने गरि गत शुक्रबार बालासोरमा भएको पछिल्लो तीन दशककै सबैभन्दा भयानक रेल दुर्घटनाको अनुशन्धान सकिन नपाउँदै फेरि उडिशामा अर्को रेल दुर्घटना भएको छ ।
बुधबार दिउँसो ओडिशाको जाजपुर रोड रेलवे स्टेशननजिकै पार्किङ गरी राखिएको मालबाहक रेलले किचेर छ जना मजदुरको मृत्यु भएको छ । रेलमा इन्जिन जोडिएको थिएन । सुरक्षा ट्र्याकमा उभिएको थियो ।
हावाहुरी र वर्षाका कारण मालगाडीका डिब्बाहरु गुडेको रेलवेले जनाएको छ । घटना हुँदा ठूलो पानी परिरहेको थियो । वर्षाबाट बच्न मजदुरहरू रेलमुनि बसिरहेका थिए । सोहीबेला डिब्बाहरु गुडेपछि त्यसमा परि ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
घाइतेहरुलाई अस्पताल लगिएको छ । ईस्ट कोस्ट रेलवेका प्रमुख जनसम्पर्क अधिकारी विश्वजित साहुले भने, ’यो दुर्भाग्यपूर्ण घटना हो। घटनाको पूर्ण छानबिन हुनेछ । मृत्यु भएका मजदुर ठेकेदारमार्फत रेलवेमा काम गर्दथे । उनीहरु रेलवेका कर्मचारी होइनन् ।
यो ट्रेन मनसुन रिजर्व र्याक थियो । आँधीबाट बच्न काम गर्ने क्रममा यी मजदुरहरू रेलमुनि लुकेका थिए ।’ हावाहुरी र भारी वर्षाका कारण इन्जिनविनाको मनसुन रिजर्भ ¥याक(रेल) चलेको भारतीय मिडियाहरुमा जनाइएको छ ।
गएको शुक्रवार भएको दुर्घटनामा दुई वटा रेलमा रहेका २७५ जना यात्रुको ज्यान गएको थियो । एक हजार जनाभन्दा धेरै घाइते भएका छन् । यो दुर्घटनामा तीन जना नेपालले समेत ज्यान गुमाएका छन् ।
शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ । करिब तीन दशकयता भारतमा यति भीषण सार्वजनिक यातायात दुर्घटना भएको थिएन ।