२५ जेठ, काठमाण्डौ ।
भारतको नयाँ संसदमा राखेको मुरल (भित्ते चित्र)का बारेमा संघिय संसदको दुवै सदनमा उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्याइनभ्याई भइरहेका बेला यता संघीय राजधानीमै रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने त्यसको जवाफ कुटनैतिक रुपमा शालीनताका साथ जस्तालाई त्यस्तैको शैलीमा दिएका छन् ।
मेयर शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो ।
त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो ।
मेयर शाह यतिबेला भारत भ्रमणमा छन् । नेपाल फर्किनु अघि नै उनले महानगरको आफ्नो कार्यकक्षमा यस्तो नक्सा राख्न आवश्यक निर्देशन दिएको र सोहीअनुसार बिहीबार नक्सा राखिएको महानगरका कर्मचारी बताउँछन् ।
‘मेयर शाहको निर्देशन मै आज नक्सा राखिएको छ,’ एक कर्मचारीले भने, ‘मेयर शाह बस्ने कुसीको ठिक पछाडी ठूलो नक्सा राखिएको हो ।’ कांग्रेस महामन्त्री गगन थापाले बिहीबार नै विराटनगरमा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका थिए ।
भर्खरै अखण्ड भारतको मुरल नक्सा भारतको नयाँ संसद भवनमा राखिएको बारे थापाले भनेका थिए, ‘अर्को देशले हाम्रो देशका भूभाग मिलाएर साँस्कृतिक नक्सा भन्दै छाप्छ भने नेपालले पनि ग्रेटर नेपाल बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने छ ।’
नेपाली भूमी समेटेर भारतले सांस्कृतिक नै भनिएपनि नक्सा सार्वजनिक गर्दा जवाफमात्रै मागेर चित्त बुझाउने प्रधानमन्त्री र भाषणमा मात्रै नेपालले पनि त्यस्तै प्रकारका नक्सा बनाउँनु पर्ने नेताहरुले बताउँदा काठमाडौंका मेयरले व्यवाहारबाटै जवाफ दिएका छन् ।
उनको यो कदमले सामाजिक संजालमा र समर्थकहरुमाझ प्रशंसा बटुलिरहेको छ । बालेनको कार्यकक्षमा रहेको नक्सा तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले चर्चेको भूगोलसहितको नक्सासहितको तस्बिर हो । यसअघि भारतीय संसदमा राखिएको नक्साबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका अधिकारीहरुसँग कुरा गरेको बताएका थिए ।
तर परराष्ट्रमन्त्री एनपी साउदले भने भारतीय टेलिभिजन आजतकसँगको कुराकानीका क्रममा आफूलाई त्यसबारे कुनै जानकारी नै नभएको जवाफ दिएका थिए । उता छिमेकी बंगलादेशले आफ्नो भूगोलसहितको नक्सा राखिएको विषयमा भारत सरकारसँग स्पष्टीकरण सोधिसकेको छ ।