नैतिक संकटमा प्रचण्ड, संसदमै मागियो राजीनामा

नैतिक संकटमा प्रचण्ड, संसदमै मागियो राजीनामा

२८ जेठ, काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकको अन्तिम समयमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन् ।

उनले प्रधानमन्त्री दाहालको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरेका छन् ।

अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री दाहाल प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ ? भन्दै प्रश्न गरे । शाहीले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने उनको तर्क छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा मागे लगत्तै समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गरेको धारणा संसद रेकर्डबाट हटाउन माग गरेका थिए ।

तर सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको जनाएपनि शाहीको भनाइ रेकर्डबाट हटाउन निर्देशन भने दिएनन् । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची भएपनि भोलि दिउँसो एक बजेसम्मका लागि संसद बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध आजै सर्वोच्च अदालतमा रिट दायर भएको छ। पूर्व बाल सेना नेपालका तर्फबाट लेलिन विष्टसहितले सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटको पहिलो पेसी जेठ ३० गते तोकिएको छ।

रिटमा अवोध बालबालिकालाई बन्दुक बोकाउनु, युद्धमा जासुसी लगाउनु, युद्धका समाग्री ढुवानी गराउन लगाउनु अन्तर्राष्ट्रिय कानुन अनुसार युद्ध अपराध भएकाले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि यही कानुन अनुसार कारबाही हुनुपर्ने जिकिर रिटमा गरिएको छ। प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्न नैतिक रुपमा नमिल्ने भएकाले पदिय हैसियतबाट निलम्बन गर्नु भनि आदेशको माग रिटमा गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.