२९ जेठ, एजेन्सी ।
साउदी अरेबियन क्लब अल हिलालको कुनै पनि हालतमा अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई भित्र्याउन चाहाना पूरा हुन् सकेन । अल हिलाल मेसीका लागि अहिलेसम्मकै उच्च पारिश्रमिक दिन तयार थियो। पहिला ४ सय मिलियन युरो पारिश्रमिक सहितको प्रस्ताव पठाएको अल हिलालले मेसीलाई ५ सय मिलियन युरो भन्दा बढी पारिश्रमिक सहितको अर्को प्रस्ताव पनि गरेको थियो।
तर मेसीले अल हिलालको सो सम्झौता स्वीकार गरेनन् । उनले सबै चिज पैसा नभएको सन्देश दिदै अमेरिका पूगेका छन् । अल हिलालको प्रस्ताव अस्विकार गर्दै मेसीले अमेरिका जाने निर्णय गरे। मेसीले अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध भएका छन् । मेसीको मियामी जाने निर्णयले अल हिलालको ट्रान्सफर योजनामा ठूलो धक्का पुगेको छ ।
साउदीलाई विश्वको केन्द्र बनाउने हिलालको योजनामा चोट पुगेपनि उसले हिम्मत भने अझै हारेको छैन् । मेसीले प्रस्ताव अस्विकार गरेपनि अल हिलालको प्राथमिकता अझै परिवर्तन भएको र्छैन् । विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई आधार मान्ने हो भने अल हिलाल अब मेसीका नजिकका मित्र ब्राजिलियन स्टार नेयमारलाई भित्र्याउने योजना बनाइरहेको छ।
अल हिलालले छिट्टै नेयमारलाई सम्झौता प्रस्ताव गर्ने तयारी गरिरहेको सीबीएस स्पोर्ट्सले जनाएको छ। अल हिलाल नेयमारलाई अल नासरले क्रिस्टियानो रोनाल्डोलाई दिँदै आएको बराबर पारिश्रमिक सहितको सम्झौता प्रस्ताव गर्ने योजनामा रहेको बताइएको छ। ब्राजिलियन स्टार नेयमार अहिले मेसीको पूरानो क्लब पिएसजीमा रहेका छन् । उनी यसै सिजनमा पिएसजी छाड्ने योजनामा छन् ।
पिएसजीले आफूबाट छुटकारा पाउन चाहेको थाहा पाएसँगै नेयमारले क्लबमा बस्न उचित नहुने निर्णय गरेको ब्राजिलियन मिडियाहरु बताउँछन्। खबरका अनुसार पिएसजीले नेयमारलाई आउने समर ट्रान्सफर विन्डोमा बिक्री गर्ने योजना बनाएको छ। नेयमारलाई प्रिमियर लिग क्लबहरुले भित्र्याउन चाहेका छन्। उनलाई न्यूक्यासल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले भित्र्याउन चाहेको बताइन्छ।