३० जेठ, काठमाण्डौ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि निगमले उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हो ।
साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो । विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण भएका छन् । नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका छन् । भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौंमा अवतरणका लागि उडेको थियो ।
विमानमा मलेसियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौं ओर्लेका छन् । नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेश घिमिरेका अनुसार, निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया–भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो ।
तर अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको सहप्रवक्ता घिमिरेले बताएका छन् । मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।
निगमका उपनिर्देशक रमेश पौडेलले पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताए । भारतले एअररुट अनुमति दिईहाले चाँडै मलेसिया–भैरहवा–दिल्ली–काठमाडौं उडान गर्ने योजना रहेको उनले बताए ।
०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो । जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । तर अहिले यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।