३२ जेठ, काठमाण्डौ ।
वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले कलाकार बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरेको हो । वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो।
जसमा हास्यकलाकार ’बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, ’म्याकुरी’ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ’जलन’, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली छन्। उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो।
युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ। यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो।
त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरूपमा सक्रिय भएको पाइएको हो । सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले जानकारी दिएका थिए ।