१ असार, एजेन्सी ।
चक्रवात विपरजोय आँधीले भारतको गुजरातस्थित जाखौको तटीय क्षेत्रमा ठक्कर दिएपछि गुजरातमा ठूलो क्षति भएको छ । यसको प्रभाव कच्छ–सौराष्ट्र सहित ८ जिल्लामा रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसले ठूलो विनाश छोडेको छ। धेरै ठाउँमा रुख र पोल ढलेका छन् । हावाहुरीका कारण भावनगरमा दुई जनाको मृत्यु भएको तथा २२ जनाभन्दा बढी घाइते भएका छन् ।
हालसम्म ९४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय अधिकारीहरुले बताएका छन् । कच्छको मांडवी, नलिया, नारायण सरोवर, जाखौ बन्दरगाह, मुन्द्रा र गान्धीधामलगायत राज्यभर भारी वर्षा भइरहेको छ । ९० देखि १२५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । ९४० भन्दा बढी गाउँ बिजुलीविहीन छन् । यससँगै बाढी र सडक अवरुद्धका कारण ४ हजार ६ सय ग्रामीण क्षेत्र विच्छेद भएका छन् ।
बिपरजोय चक्रवात बिहीबार साँझ ६ः३० बजे कच्छको जाखाउ तटमा पुगेको थियो । यस क्रममा हावाको गति ११५ देखि १२५ किलोमिटर प्रतिघण्टा थियो । यसअघि कच्छ, द्वारका, पोरबन्दर, जामनगर, राजकोट, जुनागढ, गान्धीधाम र मोरबी लगायतका तटीय क्षेत्रमा हावाहुरीसँगै भारी वर्षा भएको थियो। अहिले आँधी उत्तर–दक्षिण राजस्थानतर्फ सर्दैछ ।
चक्रवात विपरजोय गुजरातपछि शुक्रबार राजस्थान पुगेको छ । बाडमेर र जालोरमा आज रेड अलर्ट जारी छ र हावाहुरीसहित पानी परिरहेको छ । जालोरमा शुक्रबार बिहानसम्म ६९ एमएम पानी परेको छ । त्यहाँ, जैसलमेरमा पनि मेघ गर्जन जारी छ। बाडमेर र सिरोहीमा हावाहुरीका कारण रुख र पोल ढलेका छन् ।
आँधीका कारण शुक्रबार र शनिबार राजस्थानका ५ जिल्लामा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ भने १३ जिल्लामा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरिएको छ । यो राज्यमा जुन १८ सम्म लागू हुनेछ। गुजरातमा हावाहुरीका कारण सयौं रुख ढलेका छन् । मोबाइल टावरमा क्षति पुगेको छ, बिजुलीका पोलहरु ढलेका छन् ।
अधिकारीका अनुसार २३ जनावर मरेका छन् । गुजरातका विभिन्न स्थानमा तीव्र हावाहुरीले ५२४ भन्दा बढी रुख र ३०० भन्दा बढी बिजुलीका पोलहरु ढलेका छन् । कोस्ट गार्डले १५ वटा जहाज र ७ वटा विमान तयार राखेको जनाएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।