२ असार, काठमाण्डौ ।
केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी फेरि अस्पताल भर्ना भएका हुन् । गएराती २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
राष्ट्रपति पौडेल बुधबार मात्र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए । मंगलबार बिहान अचानक छाती दुखेपछि उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । अस्पतालमा पौडेलको मुटुको परीक्षण र २४ घन्टा चिकित्सकहरुको निगरानीपछि पौडेललाई अस्पतालले बुधबार बिहान डिस्चार्ज गरेको हो ।
अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो । त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो । अहिले भने पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले आज बिहान अस्पताल भर्ना गरिएको हो । यसअघि गत वैशाखमा राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्ली गएर उपचार गराएका थिए । बैशाख ६ गते उनलाई नयाँदिल्लीको न्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
दुई सातासम्म नयाँदिल्लीमा उपचार गरेर फर्केका राष्ट्रपति पौडेलको छात्तिमा जमेको पानीमा संक्रमण फैलिएपछि एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको हो । उनले नयाँ दिल्ली जाँदा लागेको खर्च आफैले ब्योर्होनेसमेत जनाएका थिए । राष्ट्रपतिमा निर्वाचित भएयता पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका हुन् । पौडेल २०७९ फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।