३ असार, एजेन्सी ।
कीर्गिस्तानको बिस्केकमा आजदेदखि काभा पुरुष भलिबल नेसन्स लिग सुरु हुँदैछ । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले लिग अन्तर्गत आज आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मंगोलियाबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।
मंगोलियालाई हराउँदै नेपाल काभा पुरुष भलिबल नेसन्स लिगमा सुखद् सुरुवात गर्न चहान्छ । नेपाल नयाँ कप्तान तथा सेटर हरि हजुर थापाको कप्तानीमा मैदान उत्रनेछ । टोलीसँग ओपन स्पाइकरमा मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रविन चन्द छन् । अपोजिट हिटरमा धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल छन् ।
मिडल ब्लकरमा दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विक रहँदा लिवेरोमा भीम बहादुर गाहा छन् । एक मात्रै लिवेरो रहेकाले भीमले राष्ट्रिय टोलीमा डेब्यु गर्ने पक्का रहँदा सफल विक र हेमन्त बहादुर मल्लले राष्ट्रिय टोलीमा डेब्यु गर्ने सम्भवना छ । सेटर लोकेन्द्र राज गिरीले पनि टोलीमा पूनरागमन गर्ने सम्भावना छ ।
नेपालले मंगोलियासँग २०१८ पछि पहिलो पटक खेल्न लागेको हो । २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले मंगोलियालाई पराजित गरेको थियो । नेसन्स लिगमा नेपालसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा घरेलु टोली कीर्गिस्तानको भने दुई टिम समावेश छन् । राउन्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले सोमबार किर्गिस्तान, मंगलबार इरान, बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा त्यसपछि आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।