८असार,काठमाण्डौ ।
भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार, सुन्धारा पुगेका छन् । केन्द्रीय कारागार प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाँणलाई भेट्न कारागार पुगेका थिए ।
उनीहरूबीच आधा घण्टाभन्दा बढी समय कुराकानी भएको बताइएको छ । खाणसँगको भेटमा समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको बताइएको छ । खाँण र साउदबीच कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष हुँदादेखि नै गहिरो सम्बन्ध छ ।
२०४६ सालको जनआन्दोलन ताका खाण नेविसंघ अध्यक्ष थिए । खाँणले गरेको महाधिवेशनबाट साउद अध्यक्षमा चुनिएका थिए । खाण्ाँ पछि २०६२÷०६३ मा तरुण दलको अध्यक्ष पनि भए । तर, साउद भने तरुण दलमा राजनीति गरेनन् । कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाँण र साउद पार्टीभित्र संगठन भएका प्रभवशाली नेता मानिन्छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाण तेस्रो बढी मत ल्याएर विजयी भएका थिए । बिहीबारै कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादवले पनि खाँणसँग भेट गरेका छन् । बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि खाँणलाई भेटेका थिए ।
जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।२९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सहयोग हुने गरी काम गरेको आरोप खाँणमाथि छ ।
बयानका क्रममा खाँणले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । उनले देशी–विदेशी शक्तिले आफूलाई फसाएको दाबी गर्दै आएका थिए । तर, अदालतले तत्काल उपलब्ध प्रमाणहरुबाट उनी दोषी होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
अदालतले पूर्पक्षका लागि कारागार पठाउदा समेत नेपाली कांग्रेसले अझै खाँणलाई निलम्बन गरेको छैन् । एउटै अभियोगमा थुनामा रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायामाझीलाई भने एमालेलेप्रहरीले पक्राउ गरे लगत्तै निलम्बन गरेको थियो । अहिले रायामाझी सांसदबाट पनि निलम्बनमा परेका छन् ।