८ असार,काठमाण्डौ ।
आफ्नै योजनामा बनेको समाजवादी मोर्चामा आफै नअटाएपछि दिशाहिन जत्तिकै देखिएका पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले एकाएक संयुक्त सरकारको प्रस्ताव गरेका छन्। केही दिन अघिसम्म मोर्चा बनाएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप बलियो बनाउने अभियानमा रहेका भट्टराईले आज संसद्को यो कार्यकालसम्म प्रमुख दलहरुको संयुक्त सरकार बनाउन प्रस्ताव गरेका छन्।
पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुको सट्टा यस्तो गर्दा उपयुक्त हुने उनको भनाइ छ। उनको प्रस्ताव छ, ‘यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालीक मुद्दाहरूको सम्वोधन गर्दा ठिक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ!’
यसो गर्दा भौतिक, सामाजिक, आर्थिक र पूर्वाधार विकासको सन्तुलनबाट दिगो विकासको लक्ष्य प्राप्त हुने भट्टराईको भनाइ छ। गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्झन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर नभएको उनले उल्लेख गरेका छन्।
‘विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृष्य–अदृष्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण÷भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ उनले भनेका छन्।
यसअघि डा भट्टराईले मोर्चा घोषणाको उद्धेश्य सत्तास्वार्थबाट प्रेरित रहेको भन्दै यसको औचित्यमाथि नै प्रश्न उठाएका थिए । हिजो मात्रै डा भट्टराई रास्वपाको मुख्यालयमा पुगेर ०८४ को निर्वाचनपछि नयाँ दलहरुको सरकार बन्ने बताएका थिए ।