कानुन मान्दिनँ भन्ने बालेनलाई भीमार्जुनको साथ

कानुन मान्दिनँ भन्ने बालेनलाई भीमार्जुनको साथ

८ असार, काठमाण्डौ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले बिहीबार अपरान्ह सामाजिक संजालमा लेखेको स्टाटसका कारण पक्ष र विपक्षमा विभिन्न टिप्पणीहरु भईरहेका बेला संविधानविद् भीमार्जुन आचार्य मेयर शाहका पक्षमा उभिएका छन् ।

आचार्य भारतीय चलचित्रको प्रर्दशनमाथि लगाइएको रोकविरुद्ध अदालतले जारी गरेको आदेश मान्दिनँ भन्ने मेयर शाहका पक्षमा देखिएका छन्। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा रामायणकी सीता भारतमा जन्मेकी थिइन् भन्ने आशयको संवाद रहेको दाबी गर्दै मेयर शाहले गत सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा सबै भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए ।

तर नेपाल चलचित्र संघले दायर गरेको रिट निवेदनको सुनवाइ गर्दै उच्च अदालत पाटनले बिहीबार फिल्म प्रदर्शनमा रोक लगाउन नपाइने अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि मेयरले फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेखेका थिए ।

मेयर शाहले देशको सार्वभौमसत्ता र स्वाधीनताको सवाल भएको भन्दै यसविरुद्ध आदेश दिने अदालत पनि नमान्ने र भारतीय फिल्म प्रदर्शन निषेधलाई निरन्तरता दिने अडान लिएका छन्।

यस विषयमा एकथरीले बालेनले राष्ट्रियताका सवालमा लिएको निर्णय जायज भनिरहेका छन् भने अर्काथरीले अदालत, कानुन नै मान्दिनँ भन्नु संविधानविपरीत काम भएको भन्दै आलोचना गरिरहेका छन्। यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संविधानविद् आचार्यले बालेनकै पक्ष लिएका हुन्।

आचार्यले कानुनी राज्यमा अदालतको आदेश मान्दिनँ भन्न त नपाइने तर अदालतले पनि आफू केका लागि बनेको हो भन्ने हेक्का राख्नुपर्ने टिप्पणी गरेका छन्। अदालतका धेरै काम÷कारबाही आलोच्य भएको पनि उनले उल्लेख गरेका छन्।

‘कानुनी राज्यमा अदालतको आदेश मान्दैन भन्ने अधिकार कसैलाई हुँदैन। चित्त नबुझे पनि पालना गर्नुपर्ने बाध्यता रहन्छ’, संविधानविद् आचार्यले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर अदालतले पनि कानुन, संविधान र स्वयं अदालत देशका लागि बनेका हुन्।

देश अदालत, कानुन र संविधानका लागि होइन भन्ने हेक्का राख्नुपर्छ। अदालतका धेरै कामकारबाहीहरू आलोच्य छन्।’ यस विषयमा एमाले नेता भीम रावलले पनि टिप्पणी गर्दै बालेनको पक्ष लिएका छन् ।

‘कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालगायत राज्यका सबै अंगहरू राष्ट्रिय हितमा नउभिई देशको हित रक्षा हुन सक्दैन’, नेता रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको राष्ट्रिय अस्मिता पक्षको निर्णयलाई अदालतले खारेज गर्ने भनेपछि राष्ट्रियतामाथि कति खतरा रहेछ भन्ने स्पष्ट हुन्छ।’

बालेनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समेत साथ दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘कार्यशैली र अभिव्यक्ति विवादास्पद होलान्।तर,काठमाडौंका मेयर बालेन साहको मुटु ठीक ठाउँमा छ ।

केही अपवाद बाहेक छोटो समयमा बालेनले गरेका र गर्न खोजेका कार्य सराहनीय छन् ।’ उनले भारतीय चलचित्र आदिपुरुषका संवाद लेखक मुंतशीरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.