९ असार,एजेन्सी ।
अमेरिका भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन भएको छ । मोदी आफ्नो कार्यकालको ९ वर्षमा पहिलो राजकिय भ्रमणका क्रममा अमेरिका पुग्दा उनीविरुद्ध नाराबाजी भएको हो । मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न जानुअघि देखि नै उक्त प्रदर्शन भएका थिए ।
२० जुनमा अमेरिका पुगेका मोदीलाई एकातर्फ अमेरिकी अधिकारी र भारतीय समूहहरूले भव्य स्वागत गरेका थिए भने अर्कोतर्फ अधिकारकर्मीहरूले भारतमा बिग्रँदै गएको मानवअधिकारको रेकर्ड प्रस्तुत गर्दै विरोध गरेका थिए । दुई मानव अधिकार समूहहरू ’एम्नेस्टी इन्टरनेशनल’ र ह्युमन राइट्स वाचले मोदीविरोधी प्रदर्शन गरेका हुन् ।
उनीहरूले वासिङ्टनमा बीबीसीको विवादित वित्तचित्र ’इन्डिया द मोदी’ स्क्रिनिङ पनि गरेका थिए । मोदीलाई उक्त वित्तचित्र भारतको सञ्चार माध्यमले प्रतिबन्ध लगाएको थियो । उक्त वित्तचित्रसँग सम्बन्धित सबै कन्टेन्ट भारतमा युट्युबबाट हटाइएको थियो भने ट्विट पनि ब्लक गरिएको थियो ।
मोदीविरोधी प्रदर्शनमा सहभागीहरूले ’मोदी पूर्वको उदाउँदो हिटलर’, ’हेलो जोए, विद्यार्थी नेता अमर खालिद १ हजार दिनयता किन जेलमा छन् मोदीलाई सोध’, ’क्राइम मिनिस्टर अफ इन्डिया’, ’मोदी इज नट वेलकम’ जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले भारतमा लोकतन्त्र खतरामा छ भन्ने नारा लगाएका थिए ।
ट्विटरमा उक्त प्रदर्शनसँग सम्बन्धित क्लिप र फोटो राखेर ’मोदी इज नट वेलकम’ र ’क्राइम मिनिस्टर अफ इन्डिया’ ह्वासट्यागसहित मोदीको विरोध भइरहेको छ । एक स्वतन्त्र पत्रकार एवं मानव अधिकारकर्मी पिटर फ्रेडरिकले ’पूर्वमा उदाउँदो हिटलरू’ र जो बाइडेनलाई ’मोदीको फासीवादलाई सक्षम बनाउन बन्द गर्न’ आग्रहसहितका तस्बिर शेयर गरेका छन् । उनले वासिङ्टनमा मोदीविरोधी प्रदर्शनको घोषणा गरेका थिए ।
यस्तै बाइडेन–मोदी भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई भारतको लोकतन्त्रबारे प्रश्न सोधिएको थियो । धार्मिक अल्पसंख्यकमाथि उनको सरकारले दमन गरेको विषयमा प्रश्न सोधिएपछि मोदीले लोकतन्त्र भारतको डीएनएमा भएको बताएका थिए । यसअघि सन् २०१८ मा बेलायत भ्रमणमा जाँदा पनि मोदी विरोधी प्रदर्शन भएको थियो । त्यहाँ ’भारतीय आतंकवादी’, ’बलात्कारीको संरक्षक’, ’गो ब्याक मोदी’सहितका नारा लगाइएका थिए ।