पोर्चुगिज मिडफिल्डर अल हिलालमा अनुबन्धित

पोर्चुगिज मिडफिल्डर अल हिलालमा अनुबन्धित

९ असार,एजेन्सी ।

पोर्चुगिज मिडफिल्डर रुवेन नेभेस साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् । अल हिलालले २६ वर्षीय नेभेसलाई इंग्लिस क्लब वल्भ्सबाट क्लबको कीर्तिमानी मुल्य ४७ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

वल्भ्समा सम्झौता अवधि अझै एक सिजन बाँकी रहेपनि उनले ६ वर्षको मोलिनक्स बसाई बिट मारेका हुन् । नेभेस साउदी अरेबियाको प्रो लिगका लागि युरोपेली क्लब छोड्ने पछिल्लो ठूला खेलाडी हुन् ।

यस महिनाको सुरुमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर अल इतिहादमा अनुबन्धित भइसकेका छन् । गत जनवरीमा रोनाल्डोले अल नासर पुगेसँगै युरोपको शीर्ष डिभिजनमा सानदार प्रदर्शन गरिरहेका खेलाडीहरुको गन्तव्य साउदी अरेबिया बनेको छ ।

चेल्सीका गोलकिपर एडुआर्ड मेन्डी पनि अल अहलीमा अनुबन्ध नजिक रहँदा म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा अल–हिलालले लक्षित गरिहेको छ । नेभेसले गत सिजनको अन्त्यमा बार्सिलोनाबाट खेल्ने आफ्नो महत्वाकांक्षी रहेको बताएपनि बार्सिलोनाले कुनै प्रक्रिया नै अघि बढाएन ।

अल–हिलालले भुक्तान गरेको शुल्क सन् २०२० मा लिभरपुलले डिएगो जोटालाई तिरेको भन्दा बढी हो । नेभेस सन् २०१७ मा पोर्चुगिज क्लब पोर्टाेबाट च्याम्पियनसिप क्लब वल्भ्समा अनुबन्ध भएका थिए । नेभेसकै समय २०१७–१८ मा वल्भ्स च्याम्पियनसिपबाट शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको थियो।

नेभेसले वल्भ्समा ६ सिजन बिताउँदा २५३ खेलमा ३० गोल गरेका छन् । यता अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले क्याटलान क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्क्वेट्सलाई अनुबन्ध गर्ने घोषणा गरेको छ ।

इन्टर मियामीले बार्सिलोनाका ३४ वर्षीय कप्तान सर्जियो बुस्केट्सलाई अनुबन्ध गर्ने घोषणा गरेको हो । बुस्केट्सले मे महिनामा क्लबमा १८ वर्षपछि ला लिगा च्याम्पियन छाड्ने घोषणा गरेका थिए । यससँगै बुस्क्वेट्स र लियोनेल मेस्सीबीच पुनर्मिलन हुने भएको छ ।

३५ वर्षीय मेस्सी पनि यसै सिजन फ्रान्सेली क्लब पिएसजी छाड्दै आकर्षक प्रस्तावमा इन्टर मियामीमा अनुबन्ध भइसकेका छन् । बुस्केट्स र मेस्सीले सन् २००८ देखि २०२१ सम्म बार्सामा १३ सिजनसँगै बिताएका थिए । उनीहरू तीन च्याम्पियन्स लिग, आठ ला लिगा उपाधि र ६ वटा कोपा डेल रे सँगै जितेका छन्।

रिपोर्टअनुसार पूर्व स्पेनी मिडफिल्डर बुस्केट्सलाई साउदी अरेबियाको क्लबबाट आकर्षक प्रस्ताव आएपनि उनले पनि मेस्सीले जस्तै डेभिड बेकह्यामको स्वामित्वमा रहेको मियामी जाने निर्णय गरेका हुन् । स्पेनका पूर्व कप्तान बुस्केट्सले बार्सिलोनाका लागि ७२२ खेल खेले ।

जुन क्लबको इतिहासमा तेस्रो सबैभन्दा धेरै खेल हो । उनले बार्सिलोनाबाट १५ वर्षको अवधिमा १८ गोल र ४० असिस्ट प्रदान गरेका छन् । बुस्केट्स सन् २००५ मा बार्सिलोना पुगेका उनले २००८ मा क्लबको सिनियर टोलीबाट डेब्यु गरेका थिए ।

नोउ क्याम्प छोड्ने बुस्केट्सको निर्णयपछि बार्सिलोनाले उनलाई क्लबको प्रतिनिधित्व गर्ने सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक भनेर वर्णन गरेका थिए । स्पेनबाट सन् २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिप जितेका उनले २०२२ डिसेम्वरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.