१२ असार, काठमाण्डौ ।
भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेर फरार रहेका संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा अन्ततः पक्राउ परेका छन् । उनलाई भारतबाट पक्राउ गरिएको हो । भारतमा पनि शर्माले संस्था खोलेको पाइएको छ ।
प्रहरीका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको हो । उनकी श्रीमती गितालाई भने प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । केदारनाथलाई भने मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी सीआईबीले सोमबार नेपाल ल्याएको छ ।
उनलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय प्रहरीको सहयोग लिएको थियो । भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि सीआईबीले भारतीय प्रहरीको समन्वयमा शर्माको खोजी तीव्र पारेको थियो ।
शर्मामाथि सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।
२०७७ सालमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनाइएको हो।जहाँ सर्वसाधारणले जम्मा गरेका १४ अर्बभन्दा बढी रुपैयाँ हिनामिना भएको पीडितहरुले बताएका छन् । अनुसन्धानबाट यसको प्रमुख नाइके शर्मा नै भएको खुलेपछि उनीविरुद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भएको छ ।
अन्य जिल्लामा पनि उनीविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त सहकारीले देशका ३५ जिल्लामा शाखा कार्यालय खोलेको छ । शर्मा नेतृत्वको मोरङको तुलसी सहकारीबाट पनि भएको ठगीको मोरङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।