१२ असार, एजेन्सी ।
अमेरिकाको टेक्सासमा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ । विमानको इन्जिनले कर्मचारीलाईभित्र तानेको बताइएको छ । टेक्सासको सान एन्टोनिओस्थित डेल्टा कम्पनीको यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ बढिरहेको थियो र त्यसको एउटा इन्जिन चालु थियो ।
कम्पनीले यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको बताएको छ । सरकारी निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ । बोर्डले घटनाको विवरण संकलन भइरहेको जनाएको छ ।
एयरबस ए ३१९ विमान शुक्रबार राति लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट सान एन्टोनिओ आइपुगेको थियो । डेल्टाको सहायक कम्पनी युनिफाइ एभिएसनमा ग्राउन्ड स्टाफको रूपमा काम गर्ने ती कर्मचारीको नाम कम्पनीले अहिलेसम्म खुलाएको छैन । डेल्टाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले सञ्चालन वा सुरक्षा प्रावधान र नीतिहरूसँग कुनै समस्या नभएको देखाएको छ ।’
कम्पनीका प्रवक्ताले यस घटनाले आफूहरू दुःखी भएको जनाउँदै शोक सन्तप्त परिवारलाई समवेदना व्यक्त गरेका छन् । एक अधिकारीको बयानलाई उदृत गर्दै बीबीसीमा उल्लेख भए अनुसार विमान गेटतर्फ ‘ट्याक्सिङ्’ गरिरहेको थियो । सोही क्रममा ती कर्मचारी तानिएका थिए ।
कर्मचारीलाई ‘युनिफाइ एभिएसन’ ले भर्ना गरेको थियो । यस कम्पनीले विभिन्न एयरलाइन्सको ’ग्राउन्ड ह्यान्डलिङ’ सञ्चालनमा मद्दत गर्छ। ‘युनिफाइ एभिएसन’ ले पनि घटनाप्रति दुःख व्यक्त गरेको छ । गत वर्ष अलाबामामा पनि त्यस्तै घटना भएको थियो जब विमानको इन्जिनकै कारण एक एयरपोर्ट कर्मचारीको मृत्यु भएको थियो।