१४ असार, एजेन्सी ।
साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको छ । वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते भएको र पछि उनको मृत्यु भएको स्टेट न्यूज एजेन्सी एसपीएले जनाएको छ । मृत्यु हुने नेपालीको परिचय खुलाइएको छैन ।
घटनाको साउदी अरब र अमेरिकाका अधिकारीले पुष्टि गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन । एजेन्सीका अनुसार बुधबार जेद्दास्थित दूतावास नजिकै एक हतियारधारी व्यक्ति आएर कार पार्क गरेको थियो । बन्दुक बोकेर कारबाट निस्किएका ती व्यक्तिलाई सुरक्षाकर्मीले सामान्य सम्झाइबुझाइ गरे ।
त्यसै क्रममा उक्त व्यक्तिले ती सुरक्षागार्डमाथि गोली चलाएको साउदीन्युजले जनाएको छ । जवाफमा सुरक्षाकर्मीले चलाएको गोली लागेर उक्त बन्दुकधारी व्यक्तिको पनि मृत्यु भएको मक्कास्थित प्रहरी प्रवक्ताले बताएका छन् । मक्का क्षेत्रको प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
’अमेरिकी दूतावास र वाणिज्य दूतावास साउदी अधिकारीहरूसँग सम्पर्कमा रहेको छ किनभने उनीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । वाणिज्य दूतावासलाई पछिल्ला वर्षहरूमा धेरै पटक निशाना बनाइएको छ ।
सन् २०१६ मा कम्पाउण्ड नजिकै भएको विस्फोटमा एक आत्मघाती हमलाकारीको मृत्यु र दुई जना घाइते भएका थिए। २००४ मा पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा बम आक्रमण गरेका थिए । त्यसक्रममा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र पाँच स्थानीय कर्मचारीको हत्या भएको थियो ।