आज तीन जिल्लाका नदीमा बाढी आउने / नारायणगढ–मुग्लिन सडकमा पहिरो

आज तीन जिल्लाका नदीमा बाढी आउने / नारायणगढ–मुग्लिन सडकमा पहिरो

१५असार ,काठमाडौं ।
आज तीन जिल्ला आसपासका नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, र आसपास भइ बहने केही स–साना नदीहरूमा बहाब उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम छ।

सुनसरी, काभ्रेपलाञ्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, बाँके भई बहने केही स–साना नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ। जलसतह सतर्कता तह पार गर्ने र आकस्मिक बाढीको सम्भावना रहेका नदीहरूको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यता पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन। चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ।

पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले बताएका छन् । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन ६÷७ घन्टा लाग्ने बताएका छन् । पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन। पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

सडकमा गाडीको लामो लाइन लागेको छ। सयौँ यात्रु समस्यामा छन्। काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.