विवेकशीलले सार्वजनिक गर्याे ग्रेटर नेपालको नक्सा

विवेकशीलले सार्वजनिक गर्याे ग्रेटर नेपालको नक्सा

१५ असार, काठमाण्डौ
विवेकशील साझा पार्टीले नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गर्दै मानचित्र सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ। पार्टीले नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियानसमेत चलाउने बताएको छ।

‘अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझाले ’ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र’ सार्वजनिक गरेको हो,’ प्रवक्ता आशुतोष प्रधानले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सुगौली सन्धी अगाडिको नेपालको भू–भाग र वर्तमान भू–भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारिएको छ। इतिहासलाई आधार बनाएर यो सांस्कृतिक मानचित्र बनाएर सार्वजनिक गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

 

मानचित्रमा सगरमाथादेखि बौद्धस्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए। ’मानसरोवरदेखि गंगा मैदान सम्म’का धरोहरलाई नक्सांकन गरिएको छ। नक्सामा सिमलादेखि टिस्टासम्म समेटिएको छ ।

धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काइएको छ,’ उनले भनेका छन् । भारतले नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनीजस्ता नेपालका ऐतिहासिक भू–भागलाई समेत राखेर ’अखण्ड भारत’को नयाँ नक्सा राखेको थियो। यसप्रति नेपाल सरकारले ओैपचारिक खण्डन नगरेको र कुटनीतिक नोटसमेत नपठाएको विवेकशील साझाको भनाइ छ।

 

‘यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो,’ उनले भनेका छन् । भारत अतिक्रमित नेपालको भूमी लिपुलेक–लिम्पियाधुरा–कालापानी र अतिक्रमित अन्य सम्पूर्ण भू–भाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीले बताएको छ।

यसअघि भारतको संसद भवनमा नेपालका लुम्बिनी लगायतका भुभाग समेटेपछि नेपालमा जनस्तरबाट यसको विरोध भएको थियो । यस लगत्तै ग्रेटर नेपालको नक्सा प्रयोगमा ल्याउनु पर्ने वहस छेडिएको छ । काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.