१६ असार,काठमाण्डौ ।
पछिल्लो ६ घण्टामा नवलपरासी (बर्दघाट सुस्तापूर्व), बर्दघाट सुस्ता पश्चिम, रुपन्देही जिल्ला र आसपास भारी वर्षा भएको छ । जसका कारण सो जिल्ला भई बहने खोला÷नदीमा बाढी आउने तथा होचा स्थान डुबानमा पर्नसक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना गरेको छ ।
नदी तटीय क्षेत्रमा दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार परेको पानीले केहि ठाउँमा बाढीको जोखिम छ ।
स्याङजा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती जिल्ला भएर बग्ने खोलामा आकस्मिक बाढी तथा डुवान हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यस्तै आज इलाम, झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, पर्सा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्यूठान, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास भई बहने साना खोला तथा नदीमा पनि जोखिम रहेको महाशाखाले जनाएको छ । आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तीन वटा प्रदेशमा ठूलो पानी पर्ने अनुमान छ । यी प्रदेशको तराई क्षेत्रमा आज हावाहुरीको पनि सम्भावना छ ।
ठूलो पानीका कारण सडक पहिरोले अवरुद्ध हुनसक्ने भएकाले यात्रामा सर्तकता अपनाउन तथा बाढी, चट्याङ्ग र हावाहुरी कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिन सावधानी अपनाउन पनि महाशाखाको अनुरोध छ । यता नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो ।
सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक हिजो साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
पूर्व र पश्चिमबाट काठमाण्डौ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्ड हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।