१७ असार, काठमाण्डौ ।
परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस सभापति शेरबहादुर देउवा उनको योग्ताको कारण पटक पटक प्रधानमन्त्री भएको बताएका छन् । महामन्त्री गगन थापा तर्फ लक्षित गर्दै उनले देउवा भाग्यले पटकपटक सत्तामा नपुगेको बताएका छन् ।
शनिवारमात्र महामन्त्री गगन थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवा पटकपटक प्रधानमन्त्री भएकोतर्फ लक्षित गर्दै आफ्नो भनाइ राखेका थिए ।थापाले संसारमा कुनै देशमा एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री नहुने बताएका जिकिर गरेका थिए ।
‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस्। कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन,’ महामन्त्री थापाले भनेका थिए । थापाको सोही भनाईलाई लक्षित गर्दै मन्त्री साउदले उनलाई देउवाको योग्यता सम्झाएका हुन् ।
नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आइतवार आयोजना गरेको कार्यक्रममा योग्यताकै कारण देउवा पटकपटक प्रधानमन्त्री भएकोसमेत तर्क गरे । ’धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् ।
उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन,’ साउदले भने, ’तपाईं कसैलाई पाउनु हुन्छ ५ पटक लट्री परेको मान्छे ? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ ? शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।’ नेतामा योग्यता, पार्टीमा विचार र चिन्तनले यो कुरा भएकोसमेत उनको भनाई थियो ।
यस्तै साउदले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि लक्षित गर्दै टिप्पणी गरेका छन् । नयाँ पार्टीको कुनै संगठन नभएको र सोसल मिडियाको भरमा उनीहरुको राजनीति नटिक्ने साउदको तर्क थियो । ’नयाँनयाँ पार्टी आइरहेका छन्। सोसल मिडियाबाहेक उनीहरुको कतै संगठन छैन ।
उनीहरु अर्का पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन्,’ उनले भने, ’पार्टी पद्धतिमा विश्वास गर्दैनन् । पार्टी पद्धतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न सक्दैनन् । त्यही भएर लगातार विवादमा परिराखेका छन्’ साउदको भनाई छ ।
रास्वपाले विचार ,सिद्धान्त, कार्यकर्ता र संगठन भन्दा पनि जनताका विषयहरुलाई प्राथमिकता दिदै आएको छ । गएको निर्वाचनमा रास्वपाका उम्मेदवारहरुले अन्य पार्टीका कार्यकर्ताहरुसँग आफ्ना पक्षमा खुलेर मत मागेका थिए ।