१९ असार, काठमाण्डौ ।
नेपालमा सक्रिय रहेको मनसुनका कारण स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम छ ।
त्यसैले आज दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मौसम विज्ञान विभागका अनुसार स्याङ्जाको कुमालगाउँ, दाङको कोइलाबास, अर्घाखाँचीको खाँचीकोट, पाल्पाको बल्ड्याङगढी, नवलपुरको देउराली, लम्जुङको खुदीबजार, पाल्पाको तानसेन र जितपुर केन्द्रमा अति भारी वर्षा मापन भएको छ ।
यीमध्ये २४ घण्टाको अवधिमा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै २२७.६ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानहरुमा आज बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको थियो । अन्य स्थानका नदी तथा खोलाहरुमा भने जलसतह खतराको तहभन्दा तलै छ । मौसमविद गंगा नगरकोटीका अनुसार अहिले देशैभर बादल लागिरहेको छ । अहिले काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम महाशाखाका अनुसार आज दिनमा भन्दा रातमा बढी वर्षा हुने सम्भावना देखिएको छ । आज राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले क्षतिबाट बच्न सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।