१९ असार, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्। महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो। मेयर बालेनले परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यसो गरिएको बताएका छन्।
‘काठमाडौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण हो। काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरू हुन्। विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसाकिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यही हेर्न, अनुभव गर्न र रमाउन लाखौं पर्यटकहरू आउन सक्छन् ।
वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौं पर्यटकहरू आउने र लाखौं आउन सक्ने सम्भावना छ। यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसरभित्र सवारी साधनहरूलाई निषेध गरिएको छ,’ उनले भनेका छन्।
पछिल्लो समय काठमाडौं महानगर महानगर क्षेत्रलाई स्वच्छ, सफा र सौन्दर्यकरण गर्दै हरियाली प्रवर्दधन गर्ने अभियानमा जुटेको छ ।काठमाडौंका विभिन्न स्थानका सडकहरू यतिबेला फूलका गमलाले सजिएका छन्। काठमाडौं महानगरपालिकाले शनिबारदेखि उपत्यकाका विभिन्न स्थानमा रंगीचंगी फूलका गमलाहरू राखेको हो।
महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न फूल र विरुवाहरू रोपेका गमलाहरू राखिएका छन् । यसका साथै सडक पेटीहरूमा पनि महानगरले वृक्षारोपण गरेको छ। महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ ।
महानगरले पहिलो चरणमा सधैं हरियो भइरहने धुपी, समी र कपुरको बिरुवा रोपेको छ । महानगरले कोटेश्वरदेखि तीनकुने पेट्रोलपम्प, त्रिपुरेश्वरदेखि कालीमाटी, शंखधर पार्क र रत्नपार्क, खुलामञ्चलगायतका क्षेत्रका सडक किनार र खाली क्षेत्रमा वृक्षरोपण गरेको छ । यस्तै महानगरले ३५ वटै वडालाई वृक्षरोपण गर्नका लागि खुलाक्षेत्र, पार्क र बगैंचा पहिचान गर्न पत्राचार गरेको छ ।