२० असार, काठमाण्डौ ।
नेपालमा मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएअनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन् ।
मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन् । पहिरोबाट ४५४ जना परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ । बाढीबाट ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ । मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।
बाढीबाट ११२ घर परिवार प्रभावित भएको तथ्यांक छ । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले आँकलन गरेको छ । त्यस्तै पहिरोबाट १३ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ । अहिलेसम्म संखुवासभामा बाढीपहिराले बढी क्षति पु¥याएको छ ।
संखुवासभामा ३ जनाको मृत्यु र १९ जना बेपत्ता रहेको तथ्यांक छ । त्यस्तै ताप्लेजुङको पहिरोमा ३ जनाको मृत्यु र ३ जना बेपत्ता रहेका छन् । पाँचथरमा आएको बाढीमा ३ जनाको मृत्यु भएको र ३ जना बेपत्ता भएको तथ्यांक छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।