२० असार, काठमाण्डौ ।
चर्चित नेपाली रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का रकस्टार तामाङको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित आफ्नै निवासमा निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन् । कार्कीका अनुसार ६० वर्षीय तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो । तर उनको निधनको कारण खुलिसकेको छैन । रविनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले पनि गरेकी छन् ।
रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । तामाङले गीत गाउनुका साथै थुप्रै नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रविन एन्ड द न्यू रेभोलुसन’ ब्यान्डका भोकलिस्ट हुन् ।
उनले ’छड्के’ चलचित्रमा समेत अभिनय गरेका थिए । उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, मुखौटा’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् । उनको पछिल्लो चलचित्र ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।
सन् २००६ मा उनकै नेतृत्वमा रबिन एन्ड द न्यू रेभोलुसन नामक ब्यान्ड खुलेको हो । रबिनको ’मुगलान’ नामक एल्बम निकै नै मन पराइएको थियो । उक्त एल्बममा प्रवासी नेपालीको दुःखसुख समेटिएका गीत समावेश छन् । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ ।
उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । बेलायती सैनिकका छोरा रबिन सिंगापुरमा सन् १९६३ मा जन्मिएका थिए । बाबुको जागिर सरुवासँगै उनी पनि सानैमा विभिन्न देश पुगेका थिए । उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।