२१ असार, विराटनगर ।
नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै उनले सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेकी हुन् । एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ५ महिनामै राजनीतिबाट सन्यास लिएकी घोषणा गरेकी छन् ।
सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् । एलिजाले सामाजिक संजालमा लेखेकी छिन्, समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा, धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु ।
उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ ।
श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु । दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ ।
मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु । सामाजिक कामको सिलसिलामा आफू धरानमा पुगेको उल्लेख गर्दै उनले समाजसेवामा सक्रिय हुने बताएकी छन् । फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी एलिजाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।
उनले अभिनय गर्ने फिल्मको घुइँचो पनि घोषणा भएको थियो तर त्यो निर्माण हुन सकेन । एलिजा पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उक्त पार्टीका संस्थापक नेता रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएर एलिजा एकाएक चर्चा र आलोचनामा परेकी थिइन् ।
उनी चौधरीलाई स्वागत गर्न डिल्ली बजार कारागारमा समेत पुगेकी थिइन् । एलिजा उन्मुक्तिमा प्रवेश गरेपछि पार्टीका तर्फबाट राज्य मन्त्री बन्ने सम्मका चर्चा चलेका थिए । उनी पटक पटक पार्टी नेतृत्वकै साथ गठबन्धनको बैठकमा समेत सहभागि भएकी थिइन । एलिजा चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती हुन् ।