बलात्कार प्रकरणमा कसरी जोडियो एलओडी ?

बलात्कार प्रकरणमा कसरी जोडियो एलओडी ?

२१ असार, काठमाण्डौ ।
नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि विश्व चर्चित नाइट क्लब एलओडीका संचालकहरु एक सातादेखि फरार रहेका छन् । क्लबमा सञ्चालक रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले क्लबका दुई सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो। पक्राउ पूर्जी लिएलगतै लाजिम्पाटस्थित उनीहरुको निवासमासमेत प्रहरीले खानतलासी गरेको थियो।

तर उनीहरु फेला परेका छैनन्। उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि क्लब पनि तानिएको हो। नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन। तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको हो।

कोइरालालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताएका छन् । ललितपुर प्रहरी परिसरले एलओडीका साहुहरूले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा १ (ख) कसुर गरेको दाबी गरेको छ। त्यसमा ‘बालिगहरुकालागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरन्जनस्थलमा प्रवेश वा प्रयोग गराउने’ कार्यलाई बालबालिकाविरुद्ध हिंसा गरेको मानिने छ भन्ने उल्लेख छ।

त्यस्तो हिंसा गरेबापत ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुने व्यवस्था छ । उदयपुरकी १६ वर्षीया बालिकालाई एलओडी भित्र भेटेका ५० वर्षीय सुजन कोइरालाले सानेपामा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ती बालिका बुढानीलकन्ठस्थित दिदीको घरमा बस्दै आएकी थिइन् । फेसबुकमार्फत चिनजान भएकी केटी साथीले रमाइलो गर्न जाऊँ भन्दै पीडितलाई एलओडी पु¥याएकी थिइन्।

पीडितले क्लबभित्र पुगेपछि केटी साथीले एक्लै छाडेर ‘हराएको’ बताएकी छन् । सानेपामा आफू बलात्कृत भएपछि बालिकाले दिदीलाई फोन गरेर बोलाएकी थिइन् । प्रहरी तत्कालै घटनास्थल पुगेको थियो । बालिकाको साथबाट भेटिएको कागजपत्रमा उनी नाबालिग रहेको फेला पारेपछि एलओडी यो प्रकरणमा तानिएको हो ।

यद्यपि बलात्कारस्थल भने एलओडी होइन । एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा रहेको छ । युकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो । यो क्लब चार वर्षअघि स्थापना भएको हो ।

क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ । एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ । क्लबमा करिब डेढ सय कर्मचारी कार्यरत छन् । यो क्लबमा पूर्व राजा ज्ञानेन्द्र शाहदेखि राजनीतिक दलका नेताहरुसमेत पुगेर निजि तथा सार्वजनिक कार्यक्रमसमेत गर्ने गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.