२१ असार,एजेन्सी ।
अहिलेसम्म पैसाको वर्षा शब्दावलीमा मात्र प्रयोग गरिदै आएको छ । तर पछिल्लो समय फिलिपिन्समा तटीय राजमार्गमा पैसाको वर्षा भएको जस्तै दृश्य देखिएको छ । केही बेरमा सडकमा खसेको पैसा उठाउन चालक र यात्रुको भीड लागेको देखिन्छ । तर यो कुनै चमत्कार थिएन।
हावामा उडिरहेका नोटहरू आकाशबाट खसेका थिएनन् तर सेबु साउथ कोस्टल रोडमा मोटरसाइकल चलाउने व्यक्तिको पैसाले भरिएको झोलाबाट उडिरहेका थिए। स्थानीय मिडिया रिपोर्टहरूका अनुसार मंगलबार ती व्यक्तिले केही व्यवसायहरूका भुक्तानीहरू दिन झोलामा पैसा बोकिरहेका थिए। करिब ४४ लाखदेखि ५९ लाखसम्म रहेको सबै पैसा झोलामा राखेर उनी बाइक चढेर गइरहेका थिए ।
राजमार्गमा हिड्दै गर्दा आफ्नो झोलाको चेन कहिले खुस्कियो र सबै नगद सडकमा उड्न थाल्यो भन्ने उनलाई पत्तै भएन । वास्तवमा, यदि कुनै अर्काे मोटरसाइकल चालकले उनलाई सचेत नगराएको भए उसलाई यो कुरा थाहा हुने पनि थिएन। यो कुरा थाहा पाउँदासम्म उनको झोलाबाट १४ लाखभन्दा बढी नगद उडिसकेको थियो ।
उनले तत्काल गाडी रोके तर पैसा बटुल्नेहरुको ठूलो भीड भएकाले उनले त्यसलाई नत संकलन गर्न सके नत पछि नै फर्कन सके । यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ जसमा मानिसहरु सडकबाट पैसा टिपिरहेको गरिरहेको देखिन्छ ।
भिडियोमा नोटहरू सडकमा छरिएका देखिन्छ । प्रहरीले ती व्यक्तिलाई पैसा फिर्ता गर्न मद्दत गरेपनि सबैले पैसा नभेटिएको स्थानीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । प्रहरी अधिकारीहरुले अहिले त्यहाँका बासिन्दाहरूलाई पैसा फिर्ता गर्न आग्रह गरिरहेका छन् ।