२३ असार,काठमाण्डौ ।
गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ । गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षको सोही तीन महिनाको समयमा १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुवेर बहादुर कठायतले जानकारी दिए ।
त्यस्तै, सार्वजनिक हितलगायत विरुद्धको कसुरका घटना पनि बढेको देखिएको छ । यही तीन महिनाको अवधिमा २ हजार ५ सय ४५ वटा मुद्दा दर्ता भएका थिए । जबकी अघिल्लो वर्षको सोही अवधिमा ३ हजार ३ सय ९५ वटा मात्र मुद्दा दायर भएका छन् ।
वर्षभरिको आत्महत्याको तथ्याङ हेर्दा बढेर गएको देखिएपछि पछिल्लो तीन महिनाको अवधिलाई अघिल्लो वर्षको तीन महिनासँग तुलना गर्दा भने घटेर गएको देखिएको छ । चैत १५ देखि असार १५ गतेसम्म १ हजार ८ सय ७५ वटा घटना भएको देखिएको छ ।
अघिल्लो सोहि दिन महिनामा १ हजार ९ सय १ वटा घटना दर्ता भएका छन् । ‘आत्महत्याका धेरै कारण देखिएका छन् । यस विषयमा प्रहरीले पनि अध्यायन गरिरहेको छ,’ डीआइजी कठायतले भने । लागुऔषधसम्बन्धी घटना पनि यो अवधिमा बढेर गएको देखिएको छ ।
गएको तीन महिनामा १ हजार १ सय वटा दर्ता भएका थिए भने गएको आर्थिक वर्षको चैत, बैशाख जेठ र असार ८ सय ४५ वटा घटना दर्ता भएका थिए। चोरीको घटना पनि न्यून रुपमा बढेको देखिएको छ । काठमाडौं उपत्यकाभित्र दिउँसै हुने चोरी बढेका छन् ।
आर्थिक वर्ष २०७९÷८० चैतदेखि असार १५ गतेसम्म ८ सय ७८ वटा घटना भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को सोही महिनाभित्र ८ सय ५४ वटा घटना भएको प्रहरीले जानकारी दिएको छ ।
सोही अविधमा जबर्जस्तीकरणीका घटना भने घटेको देखिएको छ । आर्थिक वर्ष २०७९÷ ८० चैतदेखि असार १५ गतेसम्म ६ सय ७५ वटा मुद्दा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ७ सय ५४ वटा घटना दर्ता भएका थिए ।
सवारी ज्यानसम्बन्धी घटना पनि घटेको देखिन्छ । गएको तीन महिनामा ४ सय ८६ वटा घटना देखिन्छ । गएको आर्थिक वर्षको सोही अवधिमा भने ६ सय १० वटा घटना भएका थिए । ठगीका घटना भने बढेको देखिन्छ ।