२७ असार, एजेन्सी ।
नेपालसंग खुल्ला सिमाना भएको छिमेकी मुलुक भारत सन् २०७५ मा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । गोल्डम्यान स्याक्सले गरेको प्रक्षेपणअनुसार भारत जापान र जर्मनीलाई मात्र नभई अमेरिकालाई समेत उछिनेर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा रहेको छ । अहिले भने भारत जर्मनी, जापान, चीन र अमेरिकापछि विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो । भारतले बेलायतलाई पछि पारिसकेको छ।
बढ्दो जनसंख्यासँगै आविष्कार र प्रविधिमा भइरहेको प्रगति, उच्च पुँजीको लगानी र बढ्दो कामदार उत्पादकत्व यसको आधार भएको बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरेको छ । गोल्ड म्यान स्याक्स रिसर्चका भारतीय अर्थशास्त्री सन्तनु सेनगुप्ताले भनेका छन्, “आगामी दुई दशकमा भारतको निर्भरता अनुपात क्षेत्रीय अर्थतन्त्रमध्ये सबैभन्दा कम हुने छ ।”
देशको निर्भरता अनुपात कुल काम गर्ने उमेरको जनसंख्या र अरूमा निर्भर जनसंख्याबाट मापन गरिन्छ । निर्भरता अनुपात कम हुनुले युवा र वृद्धवृद्धालाई समर्थन गर्न सक्षम जनसंख्या बढी छ भन्ने संकेत गर्छ । सेनगुप्ताले आगामी २० वर्षसम्म प्रमुख ठुला अर्थतन्त्रमा सबैभन्दा कम निर्भरता अनुपात हुने मुलुक भारत बन्ने बताएका छन् ।
“त्यसैले यो वास्तवमै भारतको लागि उत्पादन क्षमता स्थापना गर्ने, सेवा बढाउने, पूर्वाधारको वृद्धिलाई निरन्तरता दिनेतर्फ अघि बढ्नुपर्ने संकेत हो,” उनले भने । गोल्डम्यान स्याकले सन् २०७५ सम्म ५७ ट्रिलियन अमेरिकी डलर जीडीपीसहित चीन पहिलो ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ ।
यस्तै, दोस्रो नम्बरमा ५२.५ ट्रिलियन अमेरिकी डलर जीडीपीसहित भारत र तेस्रो नम्बरमा ५१.५ ट्रिलियन जीडीपीसहित अमेरिका रहने प्रक्षेपण बैंकले गरेको छ । युरोपेली क्षेत्रको जीडीपी ३०.३ ट्रिलियन अमेरिकी डलर र जापानको जीडीपी ७.५ ट्रिलियन अमेरिकी डलर रहने बैंकको अनुमान छ ।
गोल्डम्यान साक्स ग्रुप इङ्क अमेरिकी बहुराष्ट्रिय लगानी बैंक एवं वित्तीय सेवा कम्पनी हो । भारत सरकारले विशेषगरी सडक र रेलमार्गको स्थापनासहित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । भारतको हालैको बजेटले पूर्वाधारमा लगानी बढाउन राज्य सरकारलाई ५० वर्षे ब्याजरहित ऋण कार्यक्रम जारी राख्ने लक्ष्य राखेको छ ।