१० साउन, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि एकपटक होली वाइनको विवादमा तानिएका छन् । सोमबार मात्रै ओली कम्बोडियाबाट फर्किएका थिए । कम्बोडियामा निर्वाचन पर्यवेक्षणका लागि गएका ओलीले त्यहाँ आयोजित युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेका छन् । जो नेपालमा होली वाइनको नामले विवादित छ ।
फेडेरेसनको ‘शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई अध्यक्ष ओलीद्वारा सम्बोधन’, ओलीको सचिवालयले तस्बिरसहित दिएको सूचनामा भनिएको छ । निर्वाचन पर्यवेक्षणका लागि पत्नी राधा शाक्यसहित अध्यक्ष ओली गत साउन २ गते कम्बोडिया गएका थिए । ओलीले साउन ६ गते अर्थात् २२ जुलाईमा कोरियाली क्रिस्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेका हुन् ।
युनिभर्सल पिस फेडेरेसनकाले नेपालमा केही वर्षअघि गरेको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री समेत रहेका ओली र नेता माधवकुमार नेपाल सहभागी भएका थिए । होटल हयातमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री नै सहभागी भएको भनेर चर्को विरोध भएको थियो । त्यसबेला परिवार दलका अध्यक्ष समेत रहेका नेता एकनाथ ढकाल उक्त फेडेरेसनका नेपाली एजेण्ट रहेका थिए ।
ढकाल अहिले एमालेबाट सांसद बनेका छन् । उनी पनि ओलीसँगै कम्बोडिया पुगेका थिए । आधिकारिक रूपमा ‘फ्यामिली फेडेरेसन फर वल्ड पिस एण्ड रियुनिफिकेसन(विश्व शान्ति तथा पुनर्मिलनका लागि पारिवारिक महासंघ)’ नाम रहेको युनिफिकेसन चर्चलाई सन् १९५४ मा सन म्युङ मुनले दक्षिण कोरियामा स्थापना गरेका थिए ।
युनिफिकेसन चर्च स्थापना गर्दा मुनले आफू नयाँ ‘मसिया(उद्धारक)’ भएको र क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टले पुरा गर्न नसकेको काम काम पूरा गर्न आएको दाबी गरेका थिए । यसअघि युनिफिकेसन चर्च जापानमा पनि विवादमा परेको थियो । पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा यो चर्च मुछिएको थियो । आबेलाई गोली प्रहार गर्ने ब्यक्तिकी आमाले यो चर्चलाई १० करोड येन दान दिएकी थिइन ।