१२ साउन, विराटनगर ।
नेपाल प्रेस यूनियन मोरङको अध्यक्ष पदमा बेदराज पौडेल निर्वाचित भएका छन् । यूनियनको विराटनगरमा सम्पन्न निर्वाचनबाट संस्थापन इतर समूहका पौडेल झिनो मतान्तरले सुशीला पाठकलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।
पौडेलले ६७ र पाठकले ६१ मत प्राप्त गरेका छन् । यस्तै खुल्ला उपाध्यक्ष तर्फ पौडेल समूहका पर्शुराम (प्रशान्त निरौला) निर्वाचित भएका छन् । उनले ६७ मत प्राप्त गरेभने संस्थापन समूहका जितेन्द्र नारायण ठाकुर ५० मत प्राप्त प्राप्त गरेका छन् ।
समावेशी उपाध्यक्ष तर्फ संस्थापन समूहका दिलिप अग्रवाललाई पराजित गरेर पौडेल समूहका सोनुकुमार दास निर्वाचित भएका छन् । दासले ७५ र अग्रवालले ५३ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा पौडेल समूहबाट गोपाल पोखरेल निर्वाचित भएका छन् । ८४ मत ल्याएर पोखरेल निर्वाचित हुँदा ४३ मत ल्याएर संस्थापन समूहका धिरज दाहाल पराजित भएका छन् ।
कार्यसमितिको अधिकांश पदमा पौडेल समूहले नै जित निकालेका छन् । निर्वाचनबाट सहसचिवमा पौडेल समूहबाटै रस्मिता उदास ६६ मतसहित विजयी भएकी छिन् । यस्तै कोषाध्यक्ष ७२ मतसहित कुमार खड्का विजयी भएका छन् ।