१४ साउन,काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच कुराकानी भएको हो । प्रधानमन्त्री दाहालले शनिबार नै ओलीलाई फोन गरेका थिए। प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज बालुवाटार पुगेका थिए ।
उनीहरूबीच प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद बैठक बोलाउने विषयमा छलफल भएको बताइएको छ । साउन २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६५ वर्षे उमेरहदका कारण अवकास पाउँदैछन् । संविधान अनुसार अवकास पाउनु एक महिना अघि नै प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि परिषदको बैठक नै बस्न सकेको छैन ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध २०७८ साल फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरि प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिएको थियो । संसद् सचिवालयका महासचिवको पत्र लिएर अवकास हुनुभन्दा केहि दिन अघि सर्वोच्च जान जबराले प्रयास गरे पनि सफल भएनन् ।
उनीपछि दीपक कार्की कायममुकायम प्रधानन्यायाधीश भए पनि लामो समयसम्म प्रधानन्यायाधीशमा सिफारिस हुन सकेन। २०७९ असोजमा कार्कीले पनि अवकास पाए । त्यसपछि हरिकष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश भए ।
हरिकृष्णलाई संवैधानिक परिषदको २०८० वैशाख २५ को बैठकले प्रधानन्यायाधीश सिफारिस ग¥यो । उनले असार १ मा शपथ लिएका थिए । उनी छोटो कार्यकालका लागि प्रधानन्यायाधीश भएकाले सर्वोच्चका लागि लगतै संवैधानिक परिषदको बैठक बस्नुपर्ने थियो । तर पनि कार्कीको सिफारिसपछि बैठक बस्न सकेको छैन ।