१७ साउन, काठमाण्डौ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष नेपाली वैज्ञानिक महावीर पुनले आफूले अहिलेसम्म पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उनका पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् । लिलामीबाट प्राप्त हुने सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जानेछ र सो रकमलाई वीरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने उनले फेसबुक पोस्टमा लेखेका छन् ।
नेपाल सरकारले कृषि औजार कारखानाको मर्मतसम्भार र मेसिनरी औजार थप्न पहिलोपटक अनुदान दिने भनेर अहिले आएर ऋण दिने भनेको उनले लेखेका छन् । सोही पोस्टमा प्रतिक्रिया दिँदै पुनले अहिले आफ्ना मेडललाई जति पैसा आए पनि नबेची नहुने भनेर लेखेका छन् ।
“तीन वर्ष पहिला पनि बेच्न खोजेको हो । तर त्यतिबेला कोरोनाले गर्दा कोही ग्राहक आएनन् । मूल्य त्यति हुनुपर्छ भन्ने छैन,” पुनले लेखेका छन् । ‘पदकहरु विक्रीमा राखेर मैले सरकार र संस्थाहरु, जसले मेडल दिए, उनीहरुको अपमान गर्न खोजेको होइन, पुनले भनेका छन्, पदकहरुको उपयोग सही कामका लागि गर्न खोजेको हुँ ।’
पुनले प्राप्त गरेको द रामोन म्यागासेसे पुरस्कारको सुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ । यस्तै, डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कारको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । इन्टरनेट हल अफ फेम २०१४ को सुरुआती मूल्य सात हजार ५०० अमेरिकी डलर तोकिएको छ।
यस्तै, राष्ट्रदीप पदकको मूल्य दुई हजार ५०० अमेरिकी डलर र युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्डको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । बोली लगाउन आफूलाई म्यासेज गर्न र हेर्नका लागि केही दिनमा यी मेडल राष्ट्रिय आविष्कार केन्द्रमा राखिने फेसबुक पोस्टमा लेखिएको छ ।
पछिल्ला केही समय यता महावीर सरकारले दिने भनेको अनुदानलाई समेत ऋणमा रुपान्तरण गरिदिएको भन्दै असन्तुष्ट रहदै आएका छन् । महावीर नेतृत्वको आविष्कार केन्द्रले सरकारसँग सम्झौता गरेरै कृषि औजार कारखाना संचालनको स्वामित्व लिएको छ ।
तर सरकारले सहमतिवमोजिक केन्द्रलाई गर्नुपर्ने सहयोग भने नगरेको पुनले गुनासो गर्दै आएका छन् । केन्द्रले ३० वर्षदेखि बन्द रहेको कारखानालाई संचालनमा ल्याएर नमुनाका रुपमा केही कृषि औजारहरु निमार्ण गरिसकेको छ ।