२० साउन, काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा गरेका सम्झौताबारे कुनै जानकारी नदिएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुन–कुन सम्झौता गरे, नेपाल फर्केर जानकारी नगराएको तर जे जे गर्नुपर्ने हो, त्यो नगरेको भन्दै कटाक्ष गरे ।
उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ईपीजी प्रतिवेदनका विषयमा कुरा नउठाएको, सीमा अतिक्रमणको विषय नटुंग्याएको पनि टिप्पणी गरे । ‘यस्ता थुप्रै विषय छन्, नेपाली आवश्यकता र नेपालको हितको कुराहरू छन्, त्यसमा कुनै पनि पहल भएन’, ओलीले भने, ‘यति कमजोरी देखाइयो कि उहाँको भ्रमण सत्ता स्वार्थप्रधान भयो, राष्ट्रिय हितप्रधान भएन।’
ओलीले प्रधानमन्त्रीहरू संविधान र कानुनले असहज हुने अवस्थामा राष्ट्रिय हित छोडेर सत्ता स्वार्थमा केन्द्रित सम्झौता र समझदारी गर्न समेत पछि नपर्ने गरेको दाबी गरे । अध्यक्ष ओलीले राष्ट्रिय हित छोडेर परराष्ट्र मामिलामा सहमति जनाउन एमाले कहिल्यै पनि तयार नहुने दाबी गरे । उनले नेपालले विगतदेखि असंलग्न परराष्ट्र नीति अपनाएको उल्लेख गर्दै देशको बृहत्तर र ’लङलास्टिङ’ प्रभाव राख्न ’न्युट्रालिटी’ राख्नुको विकल्प नभएको समेत बताए ।
यस्तै ओलीले सरकारले मनपरी अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने पनि प्रष्ट पारे । “रााष्ट्रिय हित छोडेर सहमति हुने कुरामा नेकपा एमाले तयार हुँदैन । नेपाली जनता पनि तयार हुन सक्दैनन् । हाम्रो दुईतिर दुईवटा ऐतिहासिक छिमेकीहरू छन्,” उनले भने, “छिमेकमा भएपछि समस्याहरू पैदा हुन सक्छन् । सिमानाको समस्या गैरछिमेकीहरूसँग हुँदैन ।
तसर्थ, हामीले हाम्रा छिमेकीलाई खुलस्त कुरा गरेर समस्याको समाधान खोज्नुपर्छ । आफना जायज हितबारे बोल्न सक्दैनौं भने त्यस्तो सत्ताको के अर्थ भयो, सरकारको के अर्थ भयो ?” अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिनेमा जोड दिए ।