भ्रष्टाचार मुद्दामा १ लाख जरिवाना सहित इमरान खानलाई ३ वर्ष कैद सजाय

भ्रष्टाचार मुद्दामा  १ लाख जरिवाना सहित इमरान खानलाई ३ वर्ष कैद सजाय

२० साउन,एजेन्सी ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान फेरि पक्राउ परेका छन् । खानलाई शनिबार लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनन्युजले जनाएको छ ।

पाकिस्तानको एक अदालतले खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ । इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा खानलाई दोषी प्रमाणित गरेको हो ।

अदालतले खानलाई एक लाख रुपैयाँ जरिबाना पनि तोकेको छ । खानले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । आज दिउँसो १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक शुरु भएको हो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए ।

अदालतले खानका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको हो । न्यायाधीशले खानलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए ।

खानका वकिल इन्तजार हुसैनले पूर्व प्रधानमन्त्री खान उनको लाहोरमा रहेको घरबाट पक्राउ परेको बताएका रोयटर्सले जनाएको छ । खानको समूहले निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ । पीटीआईको पञ्जाव प्रान्त कमिटीले इमरान खानलाई कोट लखपत जेल लगिएको जानकारी ट्विटरमा लेखेको छ।

यो सजायसँगै इमरान खान पाँच वर्ष चुनाव लड्न अयोग्य हुने पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले बताएको समाचारमा उल्लेख छ । खानलाई गत वैशाखमा पनि पक्राउ गरिएको थियो । त्यसपछि पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न ठाउँमा खानका कार्यकर्ताले आक्रमण गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.