२० साउन,एजेन्सी ।
विश्व नेतृत्व लिने होडमा हरेकक्षेत्रममा भिड्दै आएका महाशक्ति अमेरिका र चीन विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी मुद्यामा पनि आपसमा भिडेका छन् । यो विषयलाई लिएर अमेरिका र चीनबीचको मतभेद अझ बढेको छ।अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको समेत आरोप लगाएको छ।
आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको वासिङ्टनको आरोप छ । जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्नेबारेमा चिनियाँ अधिकारीसँग वार्ता गर्न बेइजिङ पुगेका अमेरिकी अधिकारी जोन केरीलाई चीनका उपराष्ट्रपति हान झेङले चीनका राजनीतिक माग पूरा हुनुपर्ने शर्त अघि सारेका थिए ।
उनले चीन जलवायुसम्बन्धी मुद्दामा बहस गर्न प्रतिबद्ध रहेको तर ताइवान मामिला, दक्षिण चीन सागर विवादलगायत विषयमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुने जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
तत्कालीन अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा चिसिएको सम्बन्ध जलवायु परिवर्तनका असरलाई लिएर अझ बिग्रिएको छ । सन् २०३० सम्ममा कार्बनडाइअक्साइड उत्सर्जन बन्द गर्ने महत्वपूर्ण लक्ष्य प्राप्तिमा चीन बाधक हुन नहुनेमा अमेरिकाको जोड छ ।