विराटनगर,भदौ २१
जिल्ला समन्वय समिति मोरङले ७५ लाख खर्च गरेर नयाँ गाडी खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहदा आलोचना भैरहेको बेला जिल्ला समन्वय समिति मोरङको दोस्रो जिल्ला सभाको बैैठकले ७५ लाख रुपैयाँमा नयाँ गाडी किन्ने निर्णय गरेको हो । जिससमा हाल दुइवटा गाडी छन् ।
नयाँ गाडी खरिद गरेपछि जिल्ला समन्वय समितिसँग सवारी साधनको संख्या तीनवटा पुग्नेछ । जिससका प्रमुख नरेश पोखरेलले कार्यालयको अनुगमन तथा निरक्षणकालागि आवश्यक सवारी साधन अभाव भएकाले नयाँ गाडी खरिद गर्ने निर्णय गरिएको विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए । कार्यालयकामा रहेको एउटा गाडी ३८ बर्ष पुरानो भएकाले नयाँ गाडी खरिद गर्न लागेको पोखरेलले बताए । नयाँ गाडी खरिदकालागि सुरुमा ५५ लाख बिनियोजन गरिएको थियो तर नपुग्ने भन्दै दोस्रो जिल्लासभाबाट २० लाख थप गरिएको हो ।
मोरङका सबै स्थानीय तहलाई जिससको १ करोड
यसैबीच जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गर्ने भएको छ । जिल्ला समन्वय समितिको दोश्रो सभा बैठकले पारित गरेको निर्णयका बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा ढुङ्गागिबिाट आम्दानी भएको मध्ये उक्त रकम १७ वटा स्थानीय तहलाई १÷१ करोडका दरले निकासा दिने निर्णय भएको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।
जिल्ला समन्वय समितिले गत आर्थिक बर्षमा जिल्लाका खोला नालाको ढुंगागिट्टीको ठेक्का वापत कुल २५ करोड ३१ लाख २३ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको थियो । जिल्ला समन्वय समितिको दोश्रो सभाले ढुगागिट्टीको ठेक्का वापत आएको आम्दानीको रकम स्थानीय तहलाई नै वितरण गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले अनुदान वापत जिल्ला समन्वय समितिलाई दिदै आएको अनुदान रकममा यस वर्ष ५० प्रतिशतले कटौती गरेको जिल्ला समन्वय समितिले जनाएको छ । नेपाल सरकारले गत आर्थिक बर्ष २ करोड ७४ लाख निकास गरेकोमा चालु आर्थिक बर्षका लागि १ करोड २२ लाख मात्र निकासा गरेको प्रमुख पोखरेलले जानकारी दिए ।