सुन तस्करी प्रकरण : फरार १२ जनाको ठेगाना पत्ता नलागेपछि म्याद तामेली पक्रिया लम्बियो

सुन तस्करी प्रकरण : फरार १२ जनाको ठेगाना पत्ता नलागेपछि म्याद तामेली पक्रिया लम्बियो

विराटनगर : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धानको क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएकाहरुमध्ये १२ जनाको ठेगाना पहिचान गर्न समस्या भएको छ ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रती गोरेकी श्रीमती नर्वदा खरेल उप्रतीसहित १२ जनाको घर ठेगाना पहिचान गर्न समस्या भएको हो ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका आरोपीहरुमध्ये नर्वदा खरेल उप्रती, मणिराम चौलागाई, सुनिल श्रेष्ठ, गीता श्रेष्ठ, कालु काले,कृष्ण भनिने कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का, रोहित आचार्य, अर्जुनप्रसाद खरेल,शिवकुमार गुभाजु, समीर अधिकारी, सञ्जय अधिकारीको ठेगाना पत्ता नलागेको हो ।

ग्त बैशाख १९ गते अदालतमा अभियोग दायर गर्दा सरकारी वकिलको कार्यालयले सबैको ठेगाना उल्लेख गरेको थियो । अभियोग पत्रमा उल्लेखित ठेगाना पछ्याउँदै म्याद तामेली गर्न गएको अदालतले १२ जना अभियुक्तको घर ठेगाना नभेटेको हो ।

अदालतले ३० दिनभित्र उपस्थिति हुनका लागि आरोपीहरुको नाममा म्याद पठाएको थियो । नियमानुसार म्याद बुझेको ३० दिन भित्र उपस्थित हुनुपर्छ । तर म्याद तामेली गर्दा आरोपीको ठेगाना पत्ता नलागे पत्रपत्रिकामार्फत सुचना जारी गर्ने जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.