२७ साउन, काठमाण्डौ ।
मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सरेको छ । जसका कारण आज र भोलि तुलनात्मक रूपमा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज बिहानै देखि काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा सुदूरपश्चिम, कोशी र मधेश प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो । मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
यस क्रममा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
यस्तै पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी÷पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने बताएको छ ।